ऐतिहासीक संबिधानसभामा प्रतिनिधित्व गर्ने आदिवासी जनजाति सभासदहरुको भेलाले आज आदिवासी जनजाति सभासद सभा (ककस) को निर्माण गरेको छ। काठमाण्डौको होटल सहान्साहा धापासीमा भएको उक्त भेलाले राजनिति बिचार र दलिय हिसावले जनजाति सभासदहरु फरक फरक रहेता पनि जातिय अधिकारको मुद्धामा सबै आदिवासी जनजाति सभासदहरु एक जुट हने छौ भनि तिन पेज लामो प्रतिबद्धता पत्रमा सामुहिक हस्ताक्षर समेत गरेको छ।गत माघ महिनामा बिभिन्न राजनितिक दलमा प्रतिनिधित्व गर्ने करिव ५० जना आदिवासी जनजाति सभासदहरुले उक्त ककसको अवधारणा पत्र निर्माण गरी आदिवासी जनजाति सभासद सभा (ककस) निर्माणको पहल गरेको थियो। उक्त पहललाई आजको भेलामा सहभागी जनजाति सभासदहरुले प्रतिबद्धता सहित पुर्णता दिने काम गरेको छ। आदिवासी जनजाति सभासदको सभा (ककस) निर्माणको लागि भएको बिभिन्न चरणको छलफल बैठक तथा भेलाहरुको लागि आवस्यक ब्यवस्थापन तथा सचिवालयको काम नेपाल आदिवासी जनजाति महासंघले गरेको छ।
संबिधानसभाको अध्यक्ष सुवास चन्द्र नेम्वाङको प्रमुख आतिथ्यमा आयोजना गरीएको उक्त कार्यक्रममा ए.ने.क.पा. माओवादीको वरिष्ठ नेता देव गुरुङ, नेपाली कांग्रेशको उपसभापति गोपालमान श्रेष्ठ, ने.क.पा. एमालेको उपाध्यक्ष तथा स्थायी कमिटी सदस्य अशोक राई बिशेष अतिथी रहनु भएको थियो। कार्यक्रममा आदिवासी जनजाति आन्दोलन कर्मी तथा बिज्ञहरु प्राज्ञ बैरागी काईला, पद्म रत्न तुलाधार, डा.चैतन्य सुब्बा, बाल कृष्ण माबुहाङ, मल्ल के सुन्दर, डा. मुक्त सिं लामा, सोमा राई लगायतको अतिथिहरु रहनु भएको थियो।
कार्यक्रमको अध्यक्षता मा. बर्षमान पुन गर्नु भएको थियो भने कार्यक्रम सन्चालन मा.पासाङ सेर्पाले गर्नु भएको थियो। स्वगत मन्तव्य मा. ईन्द्र बहादुर गुरुङ, कार्यक्रमको औचित्य माथी प्रकास पर्ने मा. पृथ्वी सुब्बा गुरुङ, प्रतिबद्धता पत्रको प्रश्तुती मा. परि थापा र प्रतिबद्धता मन्तव्य मा.रुपा चौधरी, मा. मालवर सिं थापा मगर र मा. दाल कुमारी सुनुवारले प्रश्तुत गर्नु भएको थियो।
कार्यक्रमको प्रमुख अतिथी सुवास चन्द्र नेम्वाङले आदिवासी जनजाति सभासदहरुले गरेको ककस निर्माणको यो पहलले राजनितिक दलहरुमा नयाँ राजनितिक एकताको पहलको दवाव सिर्जना गर्न सकिने तथा यसले राजनितिक दलहरु माथी राष्ट्रिय राजनितिक एकताको लागि नैतिक दवाव पनि परेको छ भनि आफनो बिचार ब्यक्त गर्नु भएको छ।
मन्तव्यको क्रममा ने.क.पा. एमालेका अशोक राईले खुट्टा कमाउने काँतरले ईतिहास लेख्दैन खुट्ट बलियो गरी आँट गरेर टेक्नेले ईतिहास लेख्दछ त्यसैले आदिवासी जनजाति सभासदहरु बलियो निष्ठाका साथ आदिवासी जनजातिहरुको अधिकारको लागि संबिधान लेख्न आँट गर्नु पर्दछ भन्नु भयो। बिशेष अतिथि गोपालमान श्रेष्ठले यतिका लामो ईतिहास बोकेका मुख्य राजनितिक दलहरुको नेतृत्व अझै पनि आदिवासी जनजातिले गर्न सकेको छैन यो दुखको कुरा हो भनि भन्नु भयो। ए.ने.क.पा. माओवादीका वरिष्ठ नेता देव गुरुङले सामाजिक समानता सहितको राष्ट्रिय एकता कायम गर्नको लागि नयाँ ढंगले राज्यको पुन संरचना गर्नु पर्दछ। एकात्मक केन्द्रीकृत राज्य संरचनामा यो सम्भव छैन भनेर भन्नु भएको थियो।
लामो समय सम्मको प्रयास पछि आदिवासी जनजाति सभासदहरुको यो ककस बन्न सम्भव भएको छ। अव यसले आदिवासी जनजातिहरुको अधिकारलाई संबिधानमा सुनिस्चीत गर्न संयुक्त रुपमा अघि बढने आशा गरेको छु भनि धन्यवाद ज्ञापन तथा सभा बिशर्जनको मन्तव्य कार्यक्रमको अध्यक्ष मा. वर्षमान पुन मगरले राख्नु भएको थियो।
कार्यक्रममा १२९ जना आदिवासी जनजातिहरुको उपस्थीति रहेको थियो भने उपस्थीत सबै सभासदहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको छ। ककसको निर्माण सम्पन्न भई सके पछि अव यसले बिभिन्न कार्यक्रमहरु तय गर्ने कुरा आदिवासी जनजाति सभासद सभा (ककस)को सचिवालयले जनाएको छ।
0 comments:
Post a Comment