
मोहन भट्टराई, विराटनगर/ नवगायिका समला हुमु्रङ राई अचेल झोलाभरि ए माया सरर एल्बम बोकी दुई बैसाखीको सहारामा विराटनगर आसपासका पसल धाइरहेको देखिन्छिन् । आफूले निकालेको पहिलो एल्बम बिक्री गर्नका लागि पूर्वी सहरका पसल तथा श्रोतामाझ पुगिरहेकी उनी शारीरिक रूपमा अशक्त भए पनि सांगभन्दा छुट्टै पहिचान बनाउने प्रयासमा छिन् । तीन महिनाको हुँदा आगोले पोलेर देब्रेखुट्टा गुमाएकी खोटाङ जाल्पाकी राई एउटा खुट्टा नभए पनि रत्तिभर विचलित नभएको बताउँछिन् । ०६२ मा एसएलसी पास गरेपछि लागेकी हुन् समला संगीतकर्ममा । 'एसएलसीपछि सांगीतिक यात्रा अगाडि बढाउने सोचले काठमाडौं पुगेँ,' गायनमै करिअर बनाउने ध्याउन्नले पढाइ बिट मारेको बताउँदै उनले भनिन्, 'सानैदेखि सफल गायिका र नायिकाका रूपमा स्थापित हुने सपना बुनेकी थिएँ ।' आँखाभरि सपना बोकेर काठमाडौं छिरेकी उनले तीन महिनाअघि पहिलो गीति एल्बम ए माया सरर श्रोतामाझ ल्याउन सफल भइन् । पहिलो एल्बमबाटै आफूले नसोचेको सफलता पाएको बताउँदै उनले भनिन्, 'पूर्वमा त यही एल्बमबाट चिनिएकी छु । सबैले सहयोग गरेका छन् ।' गायनमा अघि बढ्नका लागि घरपरिवार, संगीतकार शान्तिराम राई, इन्द्र पियजन राई, पुष्पा राई तथा श्रोताले निकै सहयोग गरे पनि राज्यले भने आफूजस्तो अशक्तलाई कुनै सहयोग नगरेकोमा भने उनको गुनासो छ । सरकार तथा विभिन्न निकायले अशक्तलाई विशेष रूपमा हेर्नुपर्ने बताउँदै अशक्तलाई संगीत सिक्न छुट्टै विद्यालयको व्यवस्था गरिनुपर्ने माग उनको छ । 'हामीलाई निःशुल्क शिक्षा दिनुपर्छ,' उनले भनिन्, 'यातायातमा पनि सुविधा दिनुपर्छ । हामीलाई उपेक्षाको दुष्टिले हेरिनु भएन ।' तीन कक्षा पढ्दा गीत गाएर पुरस्कृत भएपछि गायनमा लाग्ने हौसला मिलेको थियो उनलाई । त्यसपछिका थुप्रै प्रतियोगितामा समेत पुरस्कृत भइसकेकी छिन् उनी । रेडियो नेपालबाट भ्वाइस टेस्ट पास गरेकी उनी पोखरामा अलिमिया तारामा उत्कृष्ट पाँचौँ स्थानमा पुगी सम्मानित भएकी थिइन् । उनको ए माया सररमा युवाप्रेम कथामा आधारित गीत पूर्वेली लोकभाकाका गीत छन् । जसका कारण आफ्ना गीत युवावर्गमा चर्चित भएको उनी बताउँछिन् । एल्बमका गीतको भिडियो बनाउने तर्खरमा जुटे पनि आर्थिक अभावका कारण अड्किएको उनी बताउँछिन् । भिडियो भने निकाल्न नसक्ने बताइन् । म्युजिक भिडियो आएपछि आफ्ना गीत अझ चर्चित हुने दाबी उनको छ ।
No comments:
Post a Comment