सञ्जुहाङ पालुङ्वा अध्यक्ष, सङ्घीय लिम्बुवान राज्यपरिषद्
• लिम्बुवानमा लिम्बू जातिको स्वायत्तता खोजेका होइनौं। हाम्रो आन्दोलन लिम्बुवान मुक्ति र त्यसको स्वायत्तताका लागि हो। लिम्बुवान भूगोल हो, जाति होइन। जातीय स्वायत्तता यहाँ सम्भव छैन, भइहाल्यो भने पनि चल्न सक्दैन। • केन्द्रले हामीमाथि करिब २४० वर्ष शासन गर्यो, त्यसबाट हामी मुक्ति चाहन्छौं। सङ्घीयता भएपछि लिम्बु मात्र नभई यहाँ बसोबास गर्ने सम्पूर्ण जातजातिको मुक्ति हुन्छ।• आत्मनिर्णयको अधिकारविनाको सङ्घीयताको कुनै अर्थ हुँदैन। आईएल अभिसन्धि १६९ ले परिभाषित गरेअनुसार स्थानीय स्रोतसाधनमा स्थानीयवासीको नै अधिकार रहनुपर्छ। आफ्नो छेउको प्राकृतिक स्रोतसाधनलाई आफ्नो भन्न पाएपछि मात्र लिम्बुवानवासीको मुक्ति हुन्छ। मुद्रा, परराष्ट्र र रक्षासम्बन्धी अधिकार केन्द्रमा तथा अन्य सम्पूर्ण अधिकार प्रान्तमा रहनुपर्छ। • हामी लिम्बुवानमा कुनै पनि जातिको अग्राधिकारको कुरा गर्दैनौं। अग्राधिकारले निश्चित जातिलाई मात्र अघि बढाउँछ, अरू सबै पछि पर्छन्। • लिम्बुवान लोकतान्त्रिक मूल्य-मान्यताअनुसार चल्छ। यहाँको बहुजाति, बहुभाषा, बहुसंस्कृतिलाई इन्कार गरेर कुनै पनि शक्ति, समुदाय अघि बढ्न सक्दैन, बढ्यो भने पनि शान्ति, अमनचयन कायम रहँदैन। • लिम्बुवानमा सबै जातिले समानअधिकार उपभोग गर्न पाउँछन्। लिम्बुवानभित्र स्वायत्त इकाई निर्माण गर्ने हाम्रो अवधारणा छ। प्रान्तीयस्तरमा चुनिएर अधिकार उपभोग गर्न नसक्ने जातिहरूले स्वायत्त इकाईहरूमा अधिकार उपभोग गर्न पाउने छन्। हामीले कल्पना गरेको लिम्बुवान विभिन्न रङ र बुट्टाले सजिएको तेह्रथुमे ढाकाटोपी जस्तो हो। • हामीले कल्पना गरेको राज्य तल्लो लिम्बुवान जनपरिषद् र माथिल्लो लिम्बुवान आदिवासी परिषद् गरी दुई सदनात्मक हुनेछ। जनपरिषद्मा सबै जातिको जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्व र आदिवासी परिषद्मा लिम्बुवानमा मात्र बसोबास गर्ने आदिवासी जनजातिले प्रतिनिधित्व गर्ने छन्। • केन्द्रमा जनताले चुनेका प्रतिनिधिले भाग लिन पाउने छन्, लिम्बु नै जाने भन्ने छैन। लिम्बुवानवासीको हित विपरित काम गरेमा उसलाई फिर्ता गर्ने अधिकार प्रान्तमा रहन्छ। • जातीय मुक्ति र वर्गीय मुक्ति अलग-अलग विषय हुन्। कथित उपल्लो जाति र दलितले एउटै स्तरको काम सँगै गर्छन् तर खाना खाने बेलामा विभेद हुन्छ त्यसैले जातीय मुक्ति पहिला हुनुपर्छ। अनि मात्र वर्गीय मुक्ति सम्भव छ।
0 comments:
Post a Comment