देबेन्द्र भट्टराई
धनसम्पत्ति कमाउने आशा लिएर पाँच वर्षअघि खाडीको कुवेत पुगेकी पोखराकी ३२ बर्षे रुपवती गुरुङ(नाम परिवर्तन) अहिले देश फिरेकी छिन्। तर गोजीमा सुको पैसा नलिइ र भएको आफ्नो परिचय पनि गुमाएर तीन वर्षे छोरो काखमा खेलाउँदै उनी फिरेकी छिन्।‘पाँच वर्षअघि दिल्ली हुँदै कुवेत पुगेकी हुँ,’बेखर्ची बनेर बालाजुको एउटा होटलमा एक महिनादेखि अरबी भाषा मात्रै बोल्ने छोरो सम्हाल्दै बसिरहेकी मायावतीले भनिन्—’पछिल्ला डेढ वर्ष छोरो लिएरै कुवेती जेलमा बसें, अनि सजाय भुक्तान भएपछि एक महिनादेखि यो होटलमा शरण लिएर बसिरहेकी छु।’
रुपवती स्कुले बिद्यार्थी छँदा भविष्यमा नर्स बन्ने सपना देख्तिन्। परिवारकी टुहुरी यी छोरीले जेनतेन १० कक्षासम्म पढ्ने मौका पनि पाइन्। नर्स बन्ने इच्छामा त्यही एउटा अवसरमा काठमाडौं आएर स्वास्थ्य सहायकको तालिम पनि उनले लिएकी थिइन्। तर त्यो पुरा नभइ उनको बिहा भयो। ‘जिन्दगीले बाटो त्यहींबाट बदल्यो,’ मायाँवती भन्दै थिइन्—’बेरोजगार युवकसँग २० बर्षे उमेरमा बिहा भएपछि धेरै कठीनाइ बेहोर्नुपर्यो।’ श्रीमानको भर पर्न नसकेर कहिले पोखरामा किराना पसल थाप्दै त कहिले गाउँले स्कुलमैं डे–केयरमा काम गरेर उनले जीवन निर्वाह गरेकी रहिछन्। साथमा एक छोरा–छोरी भएपछि र समस्याले गाँज्नु–गाँजेपछि एक दलालको भर परेर श्रीमानलाई पोर्चुगल काममा पठाउने निधोमा उनी पुगिन्। त्यसका लागि आफन्तहरुबाट ५ लाख रुपैंया भेला पारेर दलाललाई बुझाइन् पनि। तर चिनजानको त्यो गाउँले पैसा लिएर बेपत्ता भएपछि रुपवतीको जीवनमा अर्को बिचल्ली सुरु भयो।
‘अनि अर्को दलाल भेटियो जसले मलाई कुवेत लैजाने कुरा गर्यो,’पाँच वर्षअघिको कुरा सम्भि्करहेकी थिइन् मायाँवती—’उसलाई ३० हजार रुपैंया बुझाएर म दिल्ली हुँदै सन् २००४ को अक्टोबरमा कुवेत उत्रेकी थिएँ।’
कुवेत पुगेर सुरुमा त्यहाँको हाउसमेड सेन्टरमा लगिएको र एकदिन पछि मायालाई सम्बन्धीत कुवेती मालिक आएर उसको घर लगेको थियो। ‘तर त्यो घरमा त असाध्ये काम रहेछ, २० जनाको परिवारमा एक्लै पकाउनु, सफा गर्नु, भुई पुछ्नुपर्ने रहेछ,’उनी सम्झदै थिइन्—’३५ दिनार (मासिक झण्डै ७ हजार रुपैंया) तलब दिने भनेको थियो, खानपिन पनि बचेखुचेको मात्रै हुन्थ्यो।’
त्यो घरमा आएको १५ दिनमैं कामको सास्तीबाट हैरान भएर रुपवती हाउसमेड सेन्टरमा फिरेकी रहिछन्। त्यो सेन्टरबाट कुवेती मालिकले ३ सय दिनार (झण्डै ६० हजार रुपैंया) तिरेर उनलाई काम गर्न लगेको रहेछ। फेरि अर्को कुनै मालिकले रुपवतीको खरिद मुल्य नतिरी नयाँ काममा जान सकिने कुरै आएन। ‘यसैगरी म तीन पटक बेचिएँ, त्यहाँ बरु पशुको मुल्य होला—हामी केटीहरुको छैन,’रुपवती भन्दै थिइन्—’हरेक घरमा खेप्नुपर्ने मानसिक, शारीरिक र आर्थिक शोषणको कुरा गर्ने हो भने यो आफैंमा महाभारत बन्छ।’
रुपवतीका बुझाइमा कतिसम्म भने आफन्त भनाउँदा नेपालीको पनि हाउसमेड सेन्टर थिए जहाँ गएर जानजानी बिक्री हुन सकिन्थ्यो। ‘म हवली भन्ने ठाउँको आफन्तकै सेन्टरमा आठ महिना जति बसें, अरु आउने ४/५ जना केटीलाई खाना पकाउँदै ख्वाउने काम मेरो थियो,’उनी सम्झँदै थिइन्। पैसा कमाउने, घर फिर्ने, छोराछोरी सम्हालेर बस्ने सपना मनभरि राख्दै ‘भरेभोली केही होला कि’ भन्ने आशमा रुपवतीका दिनहरु बितिरहेका थिए।
सेन्टरमा बसिरहेकै बेला घुमघाममा निस्कदा उनले एक तिव्वती मुलका काश्मिरी युवकलाई भेटेकी रहछिन् जसले उनलाई पासपोर्ट झिकिदिने (सुरुको मालिकसँग रहेको), काम दिलाइदिने र राम्रो सेवा–सुविधा दिलाउने आशा पनि दिलाएछन्। ‘उसले मलाई बिहा गर्ने भन्यो, सँगै जीवन बिताउने भन्यो। अनि मैंले आफ्नो क्रिश्चियन धर्म फेरेर मुश्लिम बनें,’उनी सम्झँदै थिइन्। यसरी चार वर्ष अघि त्यो अपरिचितलाई आफ्नो बनाएर हवलीस्थित एक फ्लायटमा सँगै बस्न थालेपछि आमिर जन्मेका थिए। ‘तर त्यसबेलासम्म म र आमिर दुबै कुनै कागजातबिहिन र गैर कानूनी बनिसकेका थियौं,’उनले सुनाइन्।
‘उसले मेरो मन जितेको थियो, अब मेरो जिन्दगी यही हो भन्ने भएको थियो,’उनले सुनाइन्—’पछि थाहा लाग्यो, उसकी अर्की श्रीमती र एक छोरा पनि रहेछन् कश्मिरमैं।’ तैपनि केटाको आमा, हजुरआमा कसैलाई पनि दोस्रो बिहाका बारे थाहा रहेनछ।
एकपटक छोरो आमिर साह्रै बिरामी भएपछि उनले केटाको घरमा फोन गरिछन्, केटालाई नभेटेपछि घरमा केटाकी हजुरआमालाई ‘म उसकी श्रीमती हुँ, उसको छोरो बिरामी छ, उसलाई घर पठाइदिनु’ भन्ने खबर छाडिछन्। एकाएक राती रुपवतीको फ्लायटमा आएर केटाका घरपरिवारले तोडफोड गर्दै ज्यानको धम्की दिएर छाडेछन्। अर्कातिर दुइ महिनादेखि फ्लायट भाडा नतिरेकाले घरपट्टीले पनि मायालाई कोठा छाड्न भनेछ। त्यसपछि रुँदै नजिकको प्रहरी चौकीमा गएर मायाले उजुरी हालिछन् र, चौकीमैं शरण लिएर बस्न थालिछन्।
‘उजुरी हालेको तीन सातापछि प्रहरीले मलाई अलपत्र बनाउने केटालाई पक्राउ गर्यो, अनि मसहित उसलाई पनि सुलेबियास्थित केन्द्रिय जेलमा हाल्यो,’उनले सुनाइन्। यसरी रुपवती र छोरा आमिर भने डोल्मा शेर्पासहितका नेपाली युवतीहरुको कारगार–साथी बनेका रहिछन्। आफूजस्ता दर्जनौं नेपाली पीडित युवतीहरुका माझ बंगालादेशी, भारतीय, फिलिपिनो, इन्डोनेशियन, श्रीलंकन युवतीहरु पनि रहेछन्। त्यहाँ अधिकांस गैर कानूनी हैसियतमा पक्राउ परेका, कोही प्रेम र यौन सम्बन्धका कारण पनि समातिएका रहेछन्।
‘सबैतिर गरेर १ सयभन्दा बढी नेपाली युवती पक्राउ परेका हुनुपर्छ,’उनी भन्छिन्—’त्यसमा पनि कुवेतमा रहेका बंगाली दलालहरुले सबैभन्दा धेरै चेलीबेटी बेचबिखनमा लागेका छन्। कुवेतमा हामी ‘युवती जाती’ मान्छे होइनौं, पशु मात्रै हौं— बजारमा खशीबोका बिक्री गरेजस्तै।’ तर कुवेत–इराकका साझेदार कम्पनीमा काम गर्ने सिन्धुपाल्चोकका हरिकृष्ण न्यौपानेका अनुसार कुवेतका सबै जेलहरुमा गरेर अहिले २ सय ६ जना नेपाली महिला छन् जसमध्ये २१ जना अवैध रुपमा जन्मिएका बालबच्चासहित जेल परेका छन्।
जेलमा रुपवतीको सजाय १८ महिना तोकिएको रहेछ, साथमा छोरो आमिर पनि हुर्किरहेको थियो। तर एकाएक ७ महिनाअघि जेलमैं रहेका आफूलाई अलपत्र पार्ने ती युवकलाई मुटुको क्यान्सर देखिएछ र, दुइ महिनाकै उनको निधन भएछ। जेलबाट निस्केर कुवेतमैं केही गरौंला भन्ने आडभरोस रहेको श्रीमानको पनि उतै ज्यान बितेपछि रुपवतीको जीवनमा अर्को बिचल्ली थपिएछ।
‘केटाका परिवारहरु पनि मलाई जेलमा भेट्न आइरहन्थे, यो छोरो हामीलाई दे भनिरहन्थे’,उनले भनिन्—’छोरो दिएमा चाहिनेजति पैसा दिउला भनेका हुन्, तर मैंले मानिन।’ त्यसपछि आफ्नो सजाय पुरा भएपछि गएको अगष्ट २६ मा रुपवती र आमिर ट्राभल डकुमेन्टका भरमा काठमाडौं उत्रेका रहेछन्। अहिले बालाजुको एउटा गेष्ट हाउसमा ‘पछि पैसा तिर्ने बचन’का भरमा उनी बसिरहेकी छिन् जसको गेष्टहाउसमा खाएको, बसेको बाँकी मात्रै ३० हजार रुपैंयाभन्दा बढी पुगेको छ।
‘अहिले पोखरा घर जाने हालत पनि छैन,’रुपवतीको आफ्नै समस्या थियो—’यहा कहींकतै आडभरोस पाए, कुनै काम पाएमा यो छोरो पढाएर बस्ने मन छ। तर ख्वै, काम पनि केही भेटिएको छैन।’ एक फिलिपिनो सहकर्मीको हत्या अभियोग लागेर सुरुमा मृत्युदण्ड सुनाइएकी र पछि मृत्युदण्ड मिनाहामा परेकी डोल्मा शेर्पा रुपवतीकी साथी रहिछन्। डोल्माले आफ्नो श्रीमान तेन्जिङ र छोरा कर्माको कुरा गरिरहने, मनमा भएका सारा सपना मारेर जेल बस्नुपरेको र अब चाँडै घर फिर्ने आशा रहेको कुरा गर्ने रहिछन्।
उनको बुझाइमा कुवेत गएका सय महिलामध्ये ८० को हालत भने निकै दयनीय छ। केही कुमारी दिदीबहिनी समेत बालबच्चासहित लुकेर बसिरहेका छन्। ‘चेलीबेटीको जीवन निकै कष्टपूर्ण छ, तैपनि सरकारले यसमा किन केही सोच्न नसकेको हो, थाहा पाउन सकिएको छैन,’उनले भनिन्।
कुवेतमा अहिले झण्डै २० हजार नेपाली रहेकोमा त्यसमा ८० प्रतिशत जति युवती छन्। सरकारले घरेलु कामदार हैसियतमा काममा जानका लागि कुवेत, साउदी अरेबियालगायतका मुलुकमा जानका लागि प्रतिबन्ध लगाएपनि दिनहुजसो खाडीका ती मुलुकमा युवतीहरु जाने गरेका छन्। रोजगार बिभागले कुवेत, साउदी, कतारसहितका खाडी मुलुकमा घरेलु कामदार पठाउन श्रम अनुमती दिएको छैन। पहिलोपटक कुवेतमा नेपाली दुतावास खुल्न लागेकोमा रुपवतीले यो निर्णयलाई ‘राम्रै कुरा हो’ भनेपनि त्यहाँ दुतावासले काम सुरु गर्नुअघि कुवेतमा नेपाली चेलीबेटी पठाउने कि नपठाउने दह्ो निर्णय गर्नु जरुरी रहेको बताइन्। आफू जेलमा बस्दा कुवेतस्थित नेपाली हकहितमा काम गर्ने मित्र सिंजाली र साउदी अरेबियाको रियादस्थित दुतावासका कर्मचारी पुष्प भट्टराई भेटघाटमा आएको बताइन्। अहिले कुवेत मामिला साउदी अरेबियाको रियादस्थित दुतावासले हेर्दै आएको छ।‘म चाहन्छु, मलाई यो हविगतमा पुर्याउने कुवेतस्थित ती कश्मिरी परिवारले यो सानो छोराको पढाइगुनाइ र भविष्यको रेखदेखको जिम्मा लिइदिए हुन्थ्यो,’रुपवतीको इच्छा थियो—’तर यो छोरोलाई कुवेत फर्काएर मैंले बाँच्नुको अर्थ छैन।’ आफ्ना साथमा फेर्ने एकसरो कपडा पनि नरहेको र सानो छोराको अवस्था पनि उस्तै हालत रहेको उनले सुनाइन्। उनले पौरखी नेपाललगायतका नारी हकहितका संस्थाहरुबाट पनि केही सहयोगको अपेक्षा गरेकी छिन्।
‘हामीले रुपवती र उनको छोरालाई सेल्टर दिने भएका छौं, तर गेष्ट हाउसबाट निकाल्न त्यहाको खर्च बेहोर्ने उपाय खोजिरहेका छौं,’महिला हकहितमा काम गर्ने पौरखी नेपाल संस्थाकी निर्जला भट्टराईले भनिन्। रुपवतीले आफूबाट छोरो अलग्याएर बाँच्न नसक्ने बताउदै आमा–छोरा दुबैलाई एकसाथ उद्वार सहयोग गरिदिन आग्रह गरेको निर्जलाले सुनाइन् ।

0 comments:
Post a Comment