माओवादीको दोस्रो चरणको आन्दोलनमा यस्ता आन्दोलनकारी पनि भेटिए। सहरका भित्तालाई जथाभावी पोत्नुको साटो सँधै यसैगरी विरोध प्रदर्शन गरिदिए त हाम्रो सहर क्या सफा हुन्थ्यो होला ! ल, अब माओवादी र अन्य दलहरुले वाचा गर्नुपर्यो, हामी हाम्रै टाउका, गाला रंगाउँछौँ, तर भित्ता जथाभावी पोतेर सहर फोहर पार्दैनौँ भनी।
यसो भए त उ जमानाको रत्नपार्कको भित्ता काण्ड पनि मच्चिँदैन थियो होला। सम्झनुभएको छ हैन, कुरा २०५२ साल तिरको हो। एमाले त्यस बेला नौ महिने शासनको जोसमा थियो र गर्न पनि राम्रै काम गरेको थियो। एमालेका प्रधानमन्त्री मनमोहन अधिकारीले मध्यावधि निर्वाचनको घोषणा गरेका थिए। त्यहीबेला एमालेको भ्रातृ संगठन अखिलले रत्नपार्कको विद्युत प्राधिकरणको एउटा भित्तामा उतिबेलाको माओवादीको खुल्ला मोर्चा संयुक्त जनमोर्चाले निर्वाचन बहिस्कारको नारालाई मेटाएपछि त्यसले निकै उग्र रुप लिएको थियो। अहिले माओवादीले जसरी बल मिचाँइ गरिरहेको छ त्यतिबेला एमालेका मुन्द्रेहरुले गरेका थिए। भित्रभित्रै विद्रोहको तयारी गरिरहेको माओवादी पनि के कम, एमालेमाथि जाइलाग्न पुग्यो। रुपनारायण श्रेष्ठको नेतृत्वमा रहेको अखिलको टोली र बाबुरामको टोली झडप भएको थियो रे। मिलन चक्रेले हानेको खुकुरीले झण्डै बाबुराम चइट भएका थिए रे। एक प्रहरीले आफ्नो हातको पर्वाह नगरी त्यसलाई रोक्दा झण्डै हातै नछिनेको रे। उतिबेला यस्तै कुरा सुनिएका थिए। अब त्यही भित्ता काण्ड गर्ने पार्टीका कार्यकर्ता भित्ता छाडेर गाला रंगाउन थालेछन् हगि ! त्यसो त अहिले त्यो चर्चित भित्ता पनि कहाँ बाँकी छ र !कपाल नहुनको फाइदा त यिनलाई पो देखियो। चिण्डो टाउकोमा कपाल भएकाहरुको भन्दा बढी स्पेस हुन्छ नि। कपाल भएकाहरुले त दुई वटा गालापछि निधारमा मात्रै ठाउँ पाउँछन्। होलीबाहेक अब आन्दोलनमा पनि युवाका गाला रंगिन थाले।
0 comments:
Post a Comment