देशका नराम्रा खबरहरु के कम थिए र फेरि अर्को एउटा नराम्रो खबर आज सुन्नु पर्यो। आज दिउँसो नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बम पडकाइएछ। धन्य, बम पडकिएको बेला त्यो हलमा कोही रहेनछ र कसैलाई केही भएन। नत्र अझ नराम्रो खबर सुन्नु पर्ने हुनसक्थ्यो।
बम पड्काएर आतंक मच्चाउन खोज्ने को हो भन्ने बारेमा यकिन भइसकेको छैन। तर त्यहाँ वरपर नेपाल डिफेन्स आर्मीको पर्चा भेटियो रे। डिफेन्स आर्मी राजा फर्काएर हिन्दू अधिराज्य खडा गर्ने भन्दै स्थापना गरिएको आरपी मैनालीको एउटा सशस्त्र समूह हो। यो समूहलाई प्रहरीले अति संवेदनशील समूहको सूचिमा राखेको छ।
यही समूहले त हो केही महिनामात्र अगाडि काठमाडौँको चर्चमा बम पड्काएर तीन जनाको ज्यान लिएको। त्यति बेला बम पडकाउने एक महिलालाई प्रहरीले गिरफ्तार गरिसकेको छ।
त्यसो त आरपी मैनालीलाई पनि प्रहरीले गिरफ्तार गरिसकेको थियो। तर नेपालको कानुन न हो, खास ठूलो अभियोग लगाउन नसक्दा उनी छुटेका थिए। छुटेपछि उनी अझै आक्रामक भएर लागेका थिए।
आज काँग्रेस कार्यालयमा भएको विस्फोट त्यस्तो शक्तिशाली भने हैन। विस्फोटबाट कार्यालयको भवनमा सामान्य क्षति पुगेको छ। बैठक कक्षमा आगो लागेको छ। विस्फोट शक्तिशाली नभए पनि काठमाडौँलाई सुरक्षित राजधानी बनाउने भन्दै सरकारले ल्याउने भनिएको विशेष सुरक्षा रणनीतिलाई भने यसले चुनौति दिएको छ।
No comments:
Post a Comment